News मच्छिन्द्रलाई महिना दिनभित्र दोस्रो उपाधि
गोलनेपाल

काठमाडौं । फागुन ७ गते सर्लाहीमा सातौं राजर्षि जनक कप जितेको मच्छिन्द्र फुटबल क्लबले बुधबार काठमाडौंमा सम्पन्न प्रथम केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामाथि पनि कब्जा जमाएको छ । महिना दिनभित्र दोस्रो उपाधि जित्ने क्रममा मच्छिन्द्रले फाइनलमा सातदोबाटो युथ क्लबलाई टाईब्रेकरमा हरायो ।

दशरथ रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धातमक खेल १–१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । खेलको चौथो मिनट मै आफिज ओलावालेको गोलबाट मच्छिन्द्रले खेलमा अग्रता लिएको थियो । तर १८औं मिनटमै जोर्डन जुनियर ओवानाले सातदोबाटोका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

निर्धारित समयमा थप गोल हुन नसकेपछि टाईब्रेकरमा मच्छिन्द्रले नतिजा ५–३ ले आफ्नो पक्षमा पार्दै विजेता बन्न सफल भएको थियो ।

विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता सातदोबाटोले ५ लाखमा चित्त बुझायो ।

मच्छिन्द्रका देवेन्द्र तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद १ लाख र ट्रफी हात पारे । मच्छिन्द्र कै बिशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक बने भने सर्वाधिक गोलकर्ताको पुरस्कार सातदोबाटोका दिपकराज सिंह ठकुरीले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले नगद ५० हजार र ट्रफी हात पारे ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments