News आठराई गाउँपालिकामा अध्यक्ष रनिङ कप सुरु
रमेश समदर्शी

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप बुधबारदेखि सुरु भएको छ ।

रनिङ कपअन्तर्गत पुरुष तथा महिला फुटबल र पुरुषतर्फ भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । झाँक्री गुफा खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन संघीय सांसद सीता गुरुङले गरेकी थिइन् । उद्घाटन खेल भने मैत्रीपूर्ण रहेको थियो ।

आठराई गाउँपालिका र पाँचथरको फिदिम नगरपालिकाको भेट्रान टिमबीच फुटबल प्रतियोगिता गराइएको थियो । मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोलको बराबरी गरेका थिए ।

सुरुवाती अग्रता आठराईले लिएको थियो । आठराईका लागि बिंकल लिम्बूले गोल गरेका थिए । तर, पाँचथरका सुकपाल तामाङले गोल गर्दै खेललाई बराबरीमा पुराएका हुन् । अध्यक्ष कपको फाइनल खेल फागुन २४ गते हुनेछ ।

पुरुषतर्फको फुटबल विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख तथा महिलातर्फको विजेता ६० हजार, उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछन् ।

आठराई गाउपालिकाका अध्यक्ष दिलकुमार पाहिमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संघीय सांसद गुरुङले गरेकी थिइन् ।

 

Post Comments