News नेपाली फुटबलमा 'ट्रेन्ड' बसाल्दै च्यासल
गोलनेपाल

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले अपेक्षा गरेअनुसार आफ्नो प्रदर्शनलाई मैदानमा निरन्तरता दिन नसके तापनि टोलीले ड्रेसिङ रुममा भने विशेष छाप छोड्दैछ ।

च्यासलले लिगको आफ्नो प्रत्येक खेलपश्चात ड्रेसिङ रुम आफै सफा गर्ने गर्दछ । जुन नेपाली फुटबल क्लब र खेलाडीहरुका लागि नयाँ प्रयोग र नौलो अनुभव समेत हो ।

जापानमा मुख्यालय रहेको एफसी रियल वल्र्डले हाल च्यासलसँग मिलेर प्रत्यक्ष सहकार्य गरिरहेको छ । रियल वल्र्डले च्यासलमा केही जापानी खेलाडीहरुलाई अनुबन्ध गर्न पनि विशेष पहल र सहयोग पुर्याएको थियो ।

ड्रेसिङ रुम सफा गर्दै च्यासल ।

यद्यपि क्लबले केही जापानी खेलाडी र नेपाली घरेलु फुटबलका केही चर्चित अनुहारहरुलाई अनुबन्ध गरे तापनि जारी लिगमा अपेक्षा गरेअनुसार नतिजा र उपलब्धी भने हासिल गर्न सकेको छैन ।

तर च्यासलले लिगको मैदानमा नभए तापनि ड्रेसिङ रुममा भने राम्रै प्रभाव छोडिरहेको छ । क्लबले खेलपश्चात् हरेकपल्ट आफ्नो ड्रेसिङ रुम आफै सफा गर्ने गर्दछ । जुन एक नेपाली फुटबल क्लबको हैसियतले उदाहरणीय कार्य समेत हो ।

एफसी रियल वल्र्डकी अध्यक्ष आया मियोश किजाकी भन्छन्, "हामी यहाँ सिकाउन आएका होईनौं । बरु हाम्रो अनुभव र ज्ञान बाँड्न आएका हौं । नेपाली खेलाडी र क्लबहरुले अन्तर्राष्ट्रिय स्तरमै मैदान भित्र र बाहिर भईरहेका राम्रा कार्यहरुलाई व्यवहारिक आत्मसात गरुन् भन्ने चाहन्छौं । र, हामीलाई विश्वास छ, उनीहरुले यो कुरा सहजै व्यवहारमा लागु गर्न सक्ने छन् ।"

स्मरण रहोस, जारी लिगमा अन्य क्लबले आफ्नो ड्रेसिङ रुम खेल पश्चात् लथालिङ र फोहोर गरेर छाड्ने गर्छन् । जबकी च्यासलले त्यसको ठिकविपरित आफ्नो ड्रेसिङ रुम आफै सफा गर्दै नेपाली फुटबलमा एउटा उदाहरणीय छाप छोड्दैछ ।

 

Post Comments