News आठराई अध्यक्ष कपः प्रगतिशील ह्वाकु सेमिफाइनलमा
रमेश समदर्शी

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप पुरुष फुटबल प्रतियोगितामा प्रगतिशील तमु युवा समूह ह्वाकु सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा खाम्लालुङको शेसेलुङ युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै ह्वाकुले अन्तिम चारमा स्थान बनाएको हो । खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा ४-२ गोलअन्तरमा ह्वाकुले खाम्लालुङलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खाम्लालुङका कप्तान अरुण लिम्बूले फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेल समय सकिन करिब १० सेकेन्ड बाँकी रहँदा ह्वाकुका मनोज बुढाथोकीको क्रस गोलमा परिणत भएको थियो ।

यसअघि आजै भएको प्रिक्वाटर फाइनल खेलमा आठराई गाउँपालिकाको ए टिम, फेदाप खेलकुद विकास समिति र महादेव आधारभूत विद्यालय ह्वाकु विजयी भएका थिए । आठराई गाउँपालिकाको ए टिमले ६ नम्बर वडा कार्यालय चुहानडाँडाको टिमलाई २-१ गोलले पराजित गरेको हो । गाउँपालिकाका लागि प्रदिप फोम्बो र अभिषेक कन्दङवाले गोल गरे भने चुहानडाँडाका लागि निरज लिङदेनले मात्र गोल गरे ।

यसैगरी, फेदापले श्रीजङ राय पापो समाजलाई १-० गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश पायो । फेदापका लागि भोजराज संग्रौलाले गरेको गोल नै निर्णायक बन्यो । अन्तिम प्रिक्वाटर फाइनल खेलमा महादेव आधारभूत विद्यालय ह्वाकुले आरधना नाजरिङ चर्च खाम्लालुङलाई २-० गोलले पराजित गर्यो । ह्वाकुका लागि सन्दिप लिम्बूले नै दुवै गोल गरेका थिए । रनिङ कपअन्तर्गत पुरुष तथा महिला फुटबल र पुरुषतर्फ भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

अध्यक्ष कपको फाइनल खेल फागुन २४ गते हुनेछ । पुरुषतर्फको फुटबल विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख तथा महिलातर्फको विजेता ६० हजार, उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछन् ।

Post Comments