News एपिएफ र चर्च ब्वाईजको जित, मनाङको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेलहरु सम्पन्न भए । च्यासल स्टेडियममा सम्पन्न खेलमा नवआगन्तुक टोली चर्च ब्वाईज युनाइटेडले नेपाल पुलिस क्लबलाई २–१ ले हरायो । खेलको १४औं मिनटमै रवि पासवानको गोलबाट अग्रता लिएको पुलिसले त्यसलाई जोगाउन सकेन ।

पहिलो हाफ कै अतिरिक्त समयमा चर्च ब्वाईजका लागि आशिष चौधरीले बराबरी गोल फर्काए । त्यस्तै ७०औं मिनटमा फ्रान्कलिनले पेनाल्टीबाट दोस्रो गोल गर्दै चर्च ब्वाईजलाई महत्वपूर्ण जित र तीन अंक दिलाउन सफल भए ।

खेलमा पुलिसका रवि पासवान म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

त्यस्तै दशरथ रंगशालामा भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले थ्रीस्टार क्लबमाथि २–० को जित निकाल्यो । एपिएफका लागि ७२औं मिनटमा मणि कुमार लामाले पहिलो गोल गरे भने ८७औं मिनटमा अर्माण्ड बिढुमले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

खेलमा एपिएफका डिफेण्डर पेपे म्यान अफ द म्याच चुनिए । उनले पनि पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

त्यस्तै दशरथ रंगशाला मै भएको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलको १४औं मिनटमा रोशन राना मगरको गोलबाट मनाङले खेलमा अग्रता लिए पनि खेलको अन्तिमतिर गोल खान पुगेको थियो । शेर्पाका लागि ८५औं मिनटमा सुरेश कुमालले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलमा मनाङका रोशन राना मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

लिग अन्तरगत फागुन २१ गते आइतबार पनि तीन खेलहरु हुनेछन् । च्यासल स्टेडियममा २ः३० बजेदेखि शुरु हुने खेलमा न्युरोडटिम (एनआरटी) र सातदोबाटो युथ क्लब भिड्ने छन् भने सोही समयमा दशरथ रंगशालामा हुने खेलमा त्रिभुवन आर्मी एफसी र संकटा क्लब भिड्ने छन् ।

त्यस्तै दशरथ रंगशाला मै बेलुका ५ः३० बजेदेखि शुरु हुने खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब आमने सामने हुनेछन् ।

Post Comments