News फुटबलका अन्जन बर्ष खेलाडी, मनिष र अब्दुला पनि उत्कृष्ट
गोलनेपाल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वार्षिक रुपमा आयोजना गर्दै आएको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्डतर्फ यसपटक पुरुषतर्फ फुटबलका चर्चित फरवार्ड अन्जन विष्ट वर्ष खेलाडी चुनिएका छन् ।

वर्ष २०७८ मा नेपाललाई ऐतिहासिक साफ च्याम्प्यिनसिपको फाइनलमा पुर्याएका अन्जनले एसियन कप छनौट तथा घरेलु फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनका आधारमा उनी पुरुष विधातर्फका उत्कृष्ट बनेका हुन् । यस विधाका लागि अन्जनले फुटबल कै किरन चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र ब्याडमिण्टनका प्रिन्स दहालललाई पछि पारे ।

अन्जन पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पनि परेका थिए । यद्यपि यो अवार्ड भलिबलकी उषा भण्डारीले हात पारिन् । भण्डारीले यो अवार्ड जित्ने क्रममा अन्जनसहित, क्रिकेटका आशिफ शेख, टेनिसकी अभिलाष विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।

महिलातर्फ वर्ष खेलाडी भने भलिबलकी अरुणा शाही घोषित भईन्् । उनले क्रिकेटकी सीता राना मगर, रुबिना क्षेत्री, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ्गकी पुनम रावलले पछि पारिन् ।

त्यस्तै युवा वर्ष खेलाडीको अवार्ड पनि फुटबलका उदाउँदा स्टार मनिष डाँगीले हात पारे । त्यस्तै वर्ष प्रशिक्षकको अवार्ड राष्ट्रिय फुटबल टोलीका पूर्व कुवेती प्रशिक्षक अब्दुला अल्मुताइरीले हात पारे । नेपालले ऐतिहासिक साफ च्याम्पियनसिपको फाइनलसहित एसियन कप छनौटमा पनि राम्रो नतिजा दिलाउन सफल अल्मुताइरीले यो अवार्ड जित्न सफल भएका हुन् ।

त्यसैगरी पलेशा गोवर्धन श्रेष्ठले पारा एथलिटको अवार्ड हात पारिन् भने ओलम्पियन रघुराम वन्तले लाईफटाईम एचिभमेन्ट अवार्ड प्राप्त गर्न सफल भए ।

वर्ष पुरुष र महिला, पिपल्स च्वाइस, वर्ष प्रशिक्षक र युवा खेलाडीका विजेतालाई पुरस्कार स्वरुप एक–एक थान मोटरसाइकल प्रदान गरिएको छ भने अन्य विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे।

Post Comments