
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ नव आगन्तुक टोली चर्च ब्वाईज युनाइटेड क्लबले लगातार दोस्रो जित हात पार्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाईजले अर्को नव आगन्तुक टोली खुमलटार एफसी विरुद्ध ३–१ को जित निकाल्यो । खेलको ११औं मिनट मै आशिष चापागाईंको गोलबाट चर्च ब्वाईजले खेलमा अग्रता बनाएको थियो ।
१८औं मिनटमा एरिक बिष्टले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ७१औं मिनटमा आशिष चापागाईंले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चर्च ब्वाईजको जित पक्का गरे ।
उता खुमलटारका लागि मेसुकेले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन । खेलमा चर्च ब्वाईजका लागि दुई गोल गरेका आशिष चापागाईं म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै, च्यासल स्टेडियममा भएको ललितपुर डर्बी भिडन्त भने रोमाञ्चक बराबरीमा सकियो । थ्रीस्टार क्लब र फ्रेण्डस क्लबबीच भएको उक्त खेल ३–३ गोलको बराबरीमा सकिंदै दुवै टोलीले अंक बाँडेका हुन् ।