News तेस्रो मिल्स गोल्डकप शुरु, ध्रुवताराको विजयी शुरुवात
गोलनेपाल

रानी । शनिबारदेखि शुरु तेस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगितामा ध्रुवतारा स्र्पोटिङ्ग क्लब, झापाले विजयी शुरुवात गरेको छ । बिराटनगर जुट मिल्स खेलमैदानमा भएको उद्घाटन खेलमा ध्रुवताराले शान्तिनगर फुटबल क्लबलाइ हराउँदै विजयी शुरुवात गरेको हो ।

निर्धारित समयको प्रतिस्पर्धात्मक खेल २–२ गोलको बराबरीमा सकिएपछि ध्रुवताराले पेनाल्टी शुटआउटमा नतिजा आफ्नो पक्षमा पारेको थियो । खेलको ११औं मिनटममै आयुष श्रेष्ठले ध्रुवताराका लागि पहिलो गोल गरेका थिए ।

यद्यपि शान्तिनगरले उत्कृष्ट पूनःरागमन गर्यो । ४४औं मिनटमा विशु श्रेष्ठले शान्तिनगरका लागि बराबरी गोल फर्काए भने ६४औं मिनटमा सुशन लामाले शान्तिनगरलाई २–१ को स्थितिमा ल्याए । यद्यपि खेलको इन्जुरी समयमा प्रविन राईले पेनाल्टीबाट ध्रुवताराका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

त्यसपछि टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा खेल सडन डेथतर्फ धकेलिएको थियो । जसमा ध्रुवताराले नतिजा १०–९ ले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा ध्रुवताराका प्रविन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

यो जितसँगै ध्रुवतारा प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत फागुन २८ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल प्रतिभा फुटबल क्लब, गोलबजार र द सेभेन युथ क्लब, धनकुटाबीच हुने आयोजकले जानकारी दियो ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, रानी बिराटनगरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल चैत्र ४ गतेका दिन हुनेछ ।

Post Comments