News एल.जी.एकतालाई शितल ज्योति कपको उपाधि
उमेश पुन
पोखरा । शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ को उपाधि एल.जी. एकताले जितेको छ । निकै प्रतिष्प्रर्धामा शनिबार पोखराको अम्मरसिंह चौरको खेल मैदानमा भएकोे फाइनल खेलमा एल.जी.ले रत्न सेवा समाजको समुहलाई सडेन डेथमा पराजित गर्दै उपाधि सहित नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
 
उपविजेता भएको समाजले भने ८५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । निर्धारित समय २५÷२५ मिनेट र थपिएको ५÷५ मिनेटमा समेत गोल हुन नसके पछि टाईब्रेकरमा दुबै तर्फ ३÷३ गोल भए पनि टाईब्रेकरको सडेन डेथमा ७–६ मा एलजीले रत्न सेवा समाजलाई पराजित गर्दै उपाधि जितेको हो । सडेन डेथमा समाजका गोलरक्षक विश्वास पौडेलले प्रहार गरेको पेनाल्टी सुट क्रसबारमा लागेर फर्कीएको थियो । एलजीका गोलरक्षक कृष्ण गुरूङले सडेन डेथमा गोल गरे ।
 
एलजीका प्रिन्स तुलाचन, प्रशान्त गुरुङ र राहुल थापाले टाईब्रेरमा गोल गरे भने समाजका विनय तामाङ, सीमोन तामाङ र राकेश गुरुङले समेत टाईब्रेकरमा गोल गरेका थिए । त्यसै गरी टाईब्रेकरको सडेन डेथमा एलजीका विवेक गुरुङ, जीवन गुरुङ, दीवस परियारले गोल गरे भने समाजका आइत तामाङ, जोन तामाङ र नकुल तामाङले पेनाल्टी सुटमा गोल गरे । निकै आक्रमक शैलिमा उत्र्रिएका दुबै टोलीले खेलमा गोल गर्न नसक्दा जित निकाल्न टाईब्रेकर हुदै सडेन डेथमै पुग्नु पर्यो ।
 
त्यसैगरी प्रतियोगितामा ई—लाइट फुटवल क्लव अनुशासित टीम घोषित भएको छ भने उसले ट्रफीको साथमा नगद ८ हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी राईलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिएको थियो ।
 
प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा समाजका नकुल तामाङ, सर्वाधिक गोलकर्ताको उपाधि ६ गोल गरेका तारा एफ.सी.का मनिस थापा मगर घोषित भए । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित भए । विभिन्न विधामा उत्कृष्ट भएका उनीहरुलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा २९ टिमको सहभागिता रहेको शितल ज्योति क्लवका सचिव पुर्ण गुरुङले बताए ।
 
विजयी खेलाडीहरुलाई नेपाल सेभेन ए साईड फुटवल महासंघका अध्यक्ष नवीन पुन, प्रतियोगिताका संयोजक सन्तोष गुरुङ, क्लवका अध्यक्ष नर प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
 
 
 
Post Comments