News प्रतिभा एफसी मिल्स गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

रानी । प्रतिभा फुटबल क्लब, गोलबजार यहाँ जारी तेस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा प्रतिभाले द सेभेन युथ क्लब, धनकुटालाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

विराटनगर जुट मिल्स खेलमैदानमा भएको खेलको २७औं मिनटमा सिद्धान्त लामाको गोलबाट प्रतिभाले खेलमा अग्रता बनाएको थियो । यद्यपि दोस्रो हाफको चौथो मिनट मै द सेभेनका लागि सन्दिप लिम्बुले बराबरी गोल फर्काउन सफल भएका थिए ।

रोमाञ्चक खेलको अन्तिमतिर विश्वास राईले प्रतिभाका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए । खेलमा प्रतिभा एफसीका विश्वास राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन २९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल साईनो स्र्पोटिङ्ग क्लब, बिराटनगर र सहलेश युवा क्लब, सिराहाबीच हुने आयोजकले जानकारी दियो ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, विराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल चैत्र ४ गतेका दिन हुनेछ ।

Post Comments