News निरन्तर उत्कृष्ट किरन
गोलनेपाल

काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक तथा कप्तान किरन चेम्जोङले आइतबार चर्चित हिरो आई लिगतर्फ सिजन २०२२–२३ का लागि उत्कृष्ट गोलरक्षकको पुरस्कार जिते । लिगको अन्तिम खेलमा आइतबार राउण्डग्लास पञ्जाब एफसीले ट्राउलाई २–० ले हरायो । सो खेलमा किरनले उपस्थिति नजनाए पनि उनी स्ट्याण्ड मै थिए ।

कुल २२ खेलबाट ५२ अंक जोडेको पञ्जाब लिगतालिकाको शिर्ष स्थानमा रहेर आई लिग च्याम्पियन बन्यो र अर्को सिजनका लागि भारतीय फुटबलको शिर्ष लिग इण्डियन सुपर लिगमा आफ्नो उपस्थितिलाई पक्का गर्यो । यद्यपि पञ्जाबले लिग उपाधि भने यसअघि नै जितिसकेको थियो ।

पञ्जाबका लागि किरनको यो दोस्रो आई लिग उपाधि थियो । यसअघि किरनले सन् २०१७–१८ को सिजनमा पनि तत्कालिन मिनर्वा पञ्जाबका लागि लिग उपाधि जितेका थिए ।

किरनले सन् २०१८ मा माल्दिभ्समा टिसी स्पोर्टसलाई दिवेही प्रिमियर लिगको उपाधि जिताउँदा पनि उत्कृष्ट गोलरक्षक चुनिएका थिए । दुई वर्ष अघि नेपाल कै पहिलो फ्रेञ्चाईज नेपाल सुपर लिगमा धनगढीका लागि खेल्दा पनि किरन उत्कृष्ट बनेका थिए ।

गत वर्ष मात्रै पनि माल्दिभ्स मै माजियाका लागि खेल्दै क्लबलाई लिग च्याम्पियन बनाउँदा किरनको उपस्थिति र प्रदर्शन उत्कृष्ट रह्यो । समग्रमा उनी घरेलु मैदान र विदेशी भूमिमा निरन्तर उत्कृष्ट रहे ।

Post Comments