News वडा नम्बर १० लाई प्रथम अध्यक्ष कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । कैलाश गाउँपालिका स्तरीय अन्तर–वडा प्रथम अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर १० ले जितेको छ ।

मंगलबार दिउँसो कैलाश–९ स्थित नामटारमा भएको फाइनल खेलमा वडा नम्बर ५ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १० ले उपाधी जितेको हो । उपाधी विजेता वडा नम्बर १० ले ६३ तोला चाँदीको कपसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ५ ले भने ४० हजार रुपैंया नगद पुरस्कारमा चित्त बुझाएको छ ।

वडा नम्बर १० लाई उपाधी जिताउन सुमन स्याङ्तनले व्यक्तिगत दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । वडा नम्बर ५ का लागि हिरा सिंतानले एक गोल गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर १० का सुर्य थिङ घोषित भए । प्रतियोगितामा वडा नम्बर १० का भुपेन्द्र महर्जन उत्कृष्ट गोलरक्षक, वडा नम्बर ५ का अम्बरसिंह पाख्रिन उत्कृष्ट डिफेन्डर, वडा नम्बर १० का साजन जिम्बा उत्कृष्ट मिडफिल्डर, वडा नम्बर १० का अजय गुरुङ उत्कृष्ट फरवार्ड, वडा नम्बर ३ का सुविन थिङ उदयमान खेलाडी, वडा नम्बर १० का रेशम थिङ उत्कृष्ट प्रशिक्षक र वडा नम्बर ५ का निर्जल लामा उत्कृष्ट म्यानेजर घोषित भएका छन् । विधागत उत्कृष्टलाई ट्रफी प्रदान गरिएको प्रतियोगिताका सहसंयोजक रविन्द्र थिङले जानकारी दिए ।

कैलाश गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईबाको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन समारोह भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, उपप्रमुख बालकुमार मल्ल ठकुरी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट लगायतको आतिथ्यता रहेको थियो ।
 
 
Post Comments