News ध्रुवतारा स्र्पोटिङ उपाधि नजिक
गोलनेपाल

रानी । संघर्षपुर्ण जितका साथ ध्रुवतारा स्र्पोटिङ क्लब, झापा जारी तेस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा ध्रुवताराले सहलेश युवा क्लब, सिराहालाई टाईब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि बिराटनगर जुट मिल्स खेलमैदानमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलको २४औं मिनटमा प्रबिन राई र ३५औं मिनटमा बिक्रम राईले गोल गर्दै ध्रुवतारालाई खेलमा अग्रता दिलाए तापनि त्यो अग्रता दोस्रो हाफमा गुमाउन पुगेको थियो ।

सहलेशका लागि ६०औं मिनटमा अमन लामा र ७३औं मिनटमा यानिकले गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए । यद्यपि टाईब्रेकरमा भने ध्रुवताराले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा ध्रुवताराका गोलरक्षक आयुष लिम्बु म्यान अफ द म्याच घोषित भए । उनलाई खेलको प्रमुख अतिथी बिराटनगर महानगरपालिका वार्ड नम्बर १४ का अध्यक्ष सुर्य नारायण महतोले नगद ३ हजार र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत २ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल गाईघाट फुटबल क्लब, उदयपुर र प्रतिभा फुटबल क्लब, गोलबजारबीच हुने आयोजकले जानकारी दियो ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, रानी, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल चैत ४ गतेका दिन हुनेछ ।

Post Comments