News मनाङको शानदार जित, एपिएफसँग आर्मी स्तब्ध
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार भएका दुई खेलहरुमा निश्चित जितको नतिजा निस्किएको छ । दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा लिगको सफलतम क्लब मनाङ मस्र्याङ्दी क्लबले न्युरोडटिम (एनआरटी) माथि ३–१ को उत्कृष्ट जित निकाल्यो र शिर्ष तीनमा उक्लियो ।

खेलको ३९औं मिनटमा रोशन राना मगरको गोलबाट अग्रता बनाएको मनाङले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । ६८औं मिनटमा सैदजामोल दवलातजोनोवले दोस्रो गोल थपे भने टिमोथी कुडुले ८७औं मिनटमा तेस्रो गोल गर्दै मनाङको जित सुनिश्चित गरेका थिए । उता खेलको अन्तिमतिर इन्जुरी समयमा अशोक थापाले एनआरटीका लागि एक गोल फर्काए तापनि त्यो गोल टोलीको हार टार्न प्रर्याप्त बनेन ।

यो जितपछि ४ खेलबाट ८ अंक जोडेको मनाङ लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । उता पराजित एनआरटी भने १ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा संघर्षरत छ ।

विभागीय भिडन्तमा एपिएफसँग आर्मी निराश

त्यस्तै बुधबार नै भएको दिनको पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हरायो । च्यासल स्टेडियममा भएको खेलको ३६औं मिनटमा मणि लामाले गरेको एक मात्र गोल एपिएफलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितपछि ४ खेलबाट ७ अंक जोडेको एपिएफ लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । उता पराजित आर्मी भने ५ अंकका सथ नवौं स्थानमा झरेको छ ।

Post Comments