News मिल्स गोल्डकपको फाइनलमा प्रतिभा, उपाधिका लागि ध्रुवतारासँग भिड्ने
गोलनेपाल

रानी । उत्कृष्ट जितका साथ प्रतिभा फुटबल क्लब, गोलबजार जारी तेस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा गाईघाट फुटबल क्लब, उदयपुरलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै प्रतिभा फाइनलमा प्रवेश गरेको हो ।

बिराटनगर जुट मिल्स खेलमैदानमा भएको खेलमा प्रतिभाका लागि दोस्रो हाफको तेस्रो मिनट मै अब्दुलाले पहिलो गोल गरे । दोस्रो हाफ कै २२औं बिनटमा बिनु आले मगरले दोस्रो गोल गर्दा ३४औं मिनटमा सिद्धान्त लामाले तेस्रो गोल गर्दै प्रतिभाको उत्कृष्ट जित र फाइनल स्थान पक्का गरेका थिए ।

खेलमा प्रतिभाका बिनु आले मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । फाइनल खेल चैत ४ गते शनिबारका दिन प्रतिभा फुटबल क्लब र ध्रुवतारा स्र्पोटिङ क्लब, झापाबीच हुनेछ ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ ।

Post Comments