News शिर्ष स्थानमा उक्लियो सातोबाटो, संकटा र शेर्पाको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ यस सिजन राम्रो लयमा देखिएको सातदोबाटो युथ क्लबले बिहीबार पाँचौं चरणको खेलमा चौथो जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

च्यासल स्टेडियममा भएको खेलमा सातदोबाटोले नवप्रवेशी टोली खुमलटार फुटबल क्लबमाथि २–१ को जित निकाल्दै शिर्ष स्थानमा कब्जा जमाएको हो । सातदोबाटोको जितमा खेल शुरु भएको १२औं मिनटमै सरदोरबेक मतमुरारोवले पहिलो गोलको खाता खोलेका थिए ।

त्यस्तै क्लबका लागि उत्कृष्ट लयमा देखिएको दिपक सिंह ठकुरीले २४औं मिनटमा सातदोबाटोका लागि दोस्रो गोल थपे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता खुमलटारका लागि दोस्रो हाफको ६३औं मिनटमा राजिव लोप्चनले एक गोल फर्काए तापनि टोलीको हार जोगाउन सकेनन् ।

यो नतिजापछि ५ खेलबाट १२ अंक जोडेको सातदोबाटो शिर्ष स्थानमा उक्लेको छ । पराजित खुमलटार भने ६ अंकका साथ आठौं स्थानमा छ ।

त्यस्तै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि ५ खेलबाट ६ अंक जोडेको संकटा लिगतालिकको सातौं स्थानमा छ भने ५ अंक जोडेको शेर्पा १०औं स्थानमा छ ।

Post Comments