News मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । दावेदार मध्ये एक मनाङ मस्र्याङ्दी क्लब जारी २२औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको खेलको ३२औं मिनटमा प्रशन्न श्रेष्ठको गोलबाट मनाङले खेलमा अग्रता बनाएको थियो । बक्स भित्रबाट श्रेष्ठले बाँयाँ खुट्टाले गरेको शक्तिशाली प्रहार विपक्षी गोलरक्षकलाई मात दिंदै गोलमा परिणत भएको थियो । त्यस्तै पहिलो हाफ कै अतिरिक्त समयमा चेतन कुमार थारुले दोस्रो गोल गर्दै मनाङको जितमा निर्णायक गोलकर्ता बनेका थिए ।

उता दोस्रो हाफको ६२औं मिनटमा बुद्ध बहादुर तामाङले पुलिसका लागि गोल गर्दै विभागीय टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । खेलमा मनाङका चेतन कुमार थारु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँ हात पारे ।

प्रतियोगिता अन्तरगत चैत ८ गते बुधबारको पहिलो सेमिफाइनल खेल सुदुरपश्चिम–११ र थ्रीस्टार क्लबबीच हुने आयोजकले जानकारी दियो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।

Post Comments