News उत्कृष्ट जितका साथ आर्मी सेमिफाइनलमा
गोलनेपाल

इटहरी । उत्कृष्ट जित हात पार्दै त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । मंगलबार भएको चौथो क्वाटरफाइनलमा आर्मीले रोलिङ्ग क्लब, झापामाथि ४–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

इटहरी रंगशालामा भएको खेलमा आर्मीका लागि तेस्रो मिनट मै दिपक गुरुङ्गले गोलको खाता खोलेका थिए । पहिलो हाफ कै अतिरिक्त समयमा जिलेस्पी जंग कार्कीले त्यो अग्रता दोब्बर बनाए र आर्मीले २–० कै अग्रता पहिलो हाफसम्म कायम पनि राख्यो ।

त्यस्तै ६१औं मिनटमा सुदिल राईले आर्मीका लागि तेस्रो गोल गरे । यद्यपि त्यसको तीन मिनट लगतै रोलिङ्गका लागि डेडीले पेनाल्टीमार्फत एक गोल गर्दै झापाली टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । उता खेलको अन्तिमतिर पदम मोक्तानले चौथो गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए ।

खेलमा आर्मीका जिलेस्पी जंग कार्की म्यान अफ द म्याच घोषित भए । उनले त्यसवापत नगद १० हजार हात पारे । प्रतियोगिता अन्तरगत चैत ८ गते बुधबारको पहिलो सेमिफाइनल खेल सगरमाथा युथ क्लब, मोरङ्ग र मच्छिन्द्र फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।

Post Comments