News चुनौतिपुर्ण समयमा आशावादी छन् अनन्त
गोलनेपाल

काठमाडौं । बुधबारदेखि शुरु प्रधानमन्त्री थ्री नेशन्स कपमा नेपालले लाओसमाथि २–० को जित निकाल्दै विजयी शुरुवात गर्यो । खेलमा ती दुई गोल अनन्त तामाङ र नवयुग श्रेष्ठबाट भएको थियो । सोही गोल गर्ने मध्ये एक अनन्त तामाङले वर्तमान परिवेशलाई सम्झदै विश्वास र आभारपूर्ण स्टाटस आफ्नो सामाजिकमार्फत अभिव्यक्त गरेका छन् ।

अनन्त लेख्छन् “मलाई निरन्तर साथ र सहयोग गर्ने सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु । हालैका दिनहरु हाम्रा लागि त्यति सहज बनेनन् । हामी मध्येका कतिपय साथीहरुले आफ्नो करियरका लागि अन्तै गन्तव्य बनाए । परिवर्तन निश्चय पनि चुनौतिपुर्ण छ । तर हामी ती चुनौतिहरुलाई चिदै पहिला जस्तै सफलता र उपलब्धीका नयाँ उचाईमा पुग्नेछौं ।”

अनन्तले मैदानमा आफू हरेक दिन राम्रो गर्न कटिबद्ध रहेको पनि विश्वास दिलाए । नेपाली समर्थक र सबै शुभेच्छुकहरुप्रति उनी अगाडी लेख्छन्, “म तपाईंहरुलाई गर्वको अनुभुती दिलाउन कुनै थकानको पर्वाह नगरी निरन्तर उत्कृष्ट प्रदर्शन गर्न टिमसँगै प्रयासरत छु । फेरि पनि तपाईंहरुलाई धन्यवाद र आभार ।”

स्मरण रहोस, पछिल्लो समय राष्ट्रिय फुटबल टोलीका अधिकांश खेलाडीहरु विदेश पलायन हुँदा अहिले टिममा लगभग नयाँ अनुहारहरु पनि सामेल भईसकेका छन् । टोलीमा रहेका पुराना खेलाडीहरु मध्ये अनन्त पनि एक हुन् । नेपाली फुटबलको पछिल्लो माहौलबाट अनन्त पनि अभ्यस्त र चिन्तित छन् भन्ने कुरा उनको यो स्टाटसले पनि बुझाउँछ ।

यद्यपि पुरानै धारमा नदेखिएको राष्ट्रिय फुटबल टोलीले थ्री नेशन्स कपको पहिलो खेलमा भने राम्रो प्रदर्शन गर्न सफल भयो । प्रतियोगितामा नेपालले आफ्नो आगामी खेल भुटानसँग खेल्ने कार्यक्रम छ ।

Post Comments