News तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप चैत तेस्रो सातादेखि
गोलनेपाल

लिक्मा । कैलालीको गौरीगङ्गा नगरपालिका–८ लिक्मामा तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९ हुने भएको छ । ‘खेलौँ फुटबल रमेर, फुटबलको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन, नगर क्षेत्रलाई खेलकुदको चहलपहल बढाउने, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । प्रतियोगितामा सुदूर पश्चिम प्रदेका ९ जिल्लाको टिम र एक आयोजक गरी जम्मा १० टिमको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगिताको विजेतालाई ट्रफि सहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

२०७४ साल बाट खेलकुद र फुटबलको बिकास निम्ति र व्यावसायिक खेलाडी तथा खेलाडी उत्पादन र गाउँ घर खेलाडीहरू लाई क्षमताको बिकास एवं युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्नको लागी गौरीगङ्गा–११ स्पोर्टस क्लबले काम गर्दै आएको छ । तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप खेल वडा नम्बर ८ स्थित लिक्माको खेल मैदानमा सञ्चालन हुनेछ ।
 
Post Comments