News जापानमा तेस्रो युनिटी फुटसल कप हुने
गोलनेपाल

काठमाडौं । एकता परिवार नागोया, जापानको आयोजनामा त्यहाँ रहेका नेपाली समुदायहरुबीच तेस्रो युनिटी फुटसल कप आयोजना हुने भएको छ । आउँदो अप्रिल २९ तारीखका दिन हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको खेल संयोजक इशान श्रेष्ठले बताए ।

त्यस्तै टिमदर्ता शुल्क ३५ हजार जापानीज येन तोकिएको पनि आयोजक क्लब कै प्रचार प्रसार संयोजक यम पाइजा मगरले जानकारी दिए । प्रतियोगिता आयोजना गरेर खेलकुद कै माध्यमबाट जापानमा रहेका नेपालीहरुबीच भाईचारा र आत्मियता कायम गर्ने आफूहरुको उद्देश्य रहेको आयोजक समूहका अर्का संस्थापक सदस्य तथा प्रतियोगिताको सह–संयोजक राजु लामाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार जापानीज येन हात पार्नेछ भने उपविजेताले १ लाख ७० येनका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक यम पाइजा मगरले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएने जानकारी दिए ।

प्रतियोगिता आयोजनाबारे आयोजक टोली कै पूर्व कप्तान सिजन थापाले जापानमा व्यस्त रहेको दैनिकीलाई बिट मार्दै प्रतियोगिता आयोजना गर्दा सबै साथीभाईसँग रमाईलो र स्वस्थ मनोरञ्जन पनि हुने बताए । वैदेशिक भूमिमा काम र आरामसँगै खेलकुदको माध्यमबाट मानसिक तनावबाट मुक्त हुन पनि युनिटी फुटसल कपले सहयोग पुर्याएको थापाको बुझाई थियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक नेपाली समुदायका टोलीहरुलाई टिमदर्ता गर्न आह्वान समेत गरिएको आयोजक समूहका अध्यक्ष देव घिमिरेले जानकारी दिए ।

Post Comments