News मनाङ तिलोत्तमा गोल्डकपको फाइनलमा
सुरज राना मगर

बुटवल । उत्कृष्ट पूनःरागमन गर्दै मनाङ मस्र्याङ्दी क्लब जारी २२औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा फ्रेण्डस क्लबलाई टाईब्रेकरमा हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलमा फ्रेण्डसले दुई गोलको स्पष्ट अग्रता जोगाउन नसक्दा अन्ततः प्रतियोगिताबाट नकआउट हुन पुग्यो । खेलको सातौं मिनट मै रफिक अमिनुको गोलबाट फ्रेण्डसले खेलमा अग्रता लिएको थियो । पहिलो हाफ कै २६औं मिनटमा उत्तम राईले त्यो अग्रता दोब्बर पारे ।

तर मनाङले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । पहिलो हाफ कै अतिरिक्त समयमा आशिष गुरुङको हेडर गोलबाट मनाङले खेलमा फर्किने संकेत देखायो । त्यस्तै दोस्रो हाफ शुरु भएको तेस्रो मिनट मै प्रशन्न श्रेष्ठले मनाङका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने फ्रेण्डसका लक्ष्मण रुचाल र डोना थापाले पेनाल्टी मिस गर्दा मनाङले नतिजा ४–३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेलमा मनाङका आशिष गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँ हात पारे ।

मनाङले अब फाइनलमा चैत ११ गतेका दिन सुदुरपश्चिम–११ को सामना गर्नेछ । सुदुरपश्चिमले बुधबार मात्रै पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments