News मनाङलाई २२औं तिलोत्तमा गोल्डकपको उपाधि
गोलनेपाल

बुटवल । यहाँ सम्पन्न प्रतिष्ठित २२औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा मनाङले सुदुरपश्चिम–११ लाई सडन डेथमा हराउँदै च्याम्पियन्स बनेको हो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको निर्धारित समयको प्रतिस्र्धात्मक खेल १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी शुटआउटतर्फ धकेलिएको थियो । खेलमा शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसकेको मनाङले उपाधि जित्न अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो ।

खेलको ५९औं मिनटमा कोफी कुडोको गोलबाट अग्रता बनाएको मनाङले त्यो अग्रता गुमाउन पुगेको थियो । खेलको ७१औं मिनटमा फागुराम चौधरीले सुदुरपश्चिमका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । सडन डेथमा भने मनाङ ८–७ ले बिजयी बन्यो ।

विजेता बनेको मनाङले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता सुदुरपश्चिमले ५,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिर्घ बहादुर कसी (कुमार), रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदखि शुरु प्रतियोगितामा ए डिभिजन र मोफसलका लागि गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments