
साविक विजेता विभागीय क्लब एपीएफ विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरको शहीद रंगशालामा शनिबार राति भएको खेलमा भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निर्धारित समय एक एक गोलको बराबरीतर्फ उन्मुख खेलमा एपीएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी पाएपछि २–१ को अग्रता बनाउँदै जित पनि पक्का गरेको हो।
खेलको तेस्रो मिनेटमा एपीएफका हरि कार्कीले हेडर गोलमार्फत अग्रता दिलाएका थिए । ड्रुकका गोलकिपरले सही डाइव लगाए पनि हरिले हेडरले जाली चुमेको थियो ।
३४ औं मिनेटमा फोफाना इब्राहिमले उत्कृष्ट गोल गर्दै भुटानी टोली ड्रुकलाई बराबरीमा ल्याएका थिए । निर्धारित समय बराबरीतर्फ उन्मुख भएका बेला ७ मिनेट थप गरिएको थियो । त्यही थप गरिएको छैटौं मिनेटमा एपीएफले पेनाल्टी पाएको थियो ।
ड्रुक लुएलका खेलाडी कामगटे मुसाले हातले गोल लाइन क्लियर गरेपछि उनले रातो कार्ड पाएका थिए भने एपीएफले पेनाल्टी प्रहार गर्ने अवसर प्राप्त गरेको थियो ।
एपीएफका अर्मान्ड बेडुमले पेनाल्टीमा गोल गरेपछि एपीएफ अन्ततः २–१ ले विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो ।
आजको खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दी म्याच बनेका छन् । उनले नगद ११ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ । विराट गोल्डकपको मुख्य प्रायोजकको रुपमा काब्रा ग्रुप रहेको छ भने । टिकेटिङ पार्टनरको रुपमा खल्ती एप रहेको छ ।