News सगरमाथा बन्यो इटहरी गोल्डकपको च्याम्पियन
गोलनेपाल

इटहरी । १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब, मोरङले जितेको छ । फाइनलमा चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौंलाई टाईब्रेकरमा हराउँदै सगरमाथा च्याम्पियन बनेको हो ।

इटहरी रंगशालामा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि सोझै टाईब्रेकरतर्फ खेल धकेलिएको थियो । टाईब्रेकरमा भने सगरमाथाले चर्च ब्वाईजमाथि ६–५ को जित निकाल्दै उपाधि जित्न सफल भयो ।

विजेता बनेको सगरमाथाले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता चर्च ब्वाईजले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

सगरमाथाका कार्की सर्वोत्कृष्ट खेलाडी

त्यस्तै विजेता सगरमाथाका कप्तान महेन्द्र कार्की प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद १ लाख र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक पनि सगरमाथा कै देव लिम्बु चुनिए । उत्कृष्ट डिफेण्डर बिशाल बस्ने बन्दा उत्कृष्ट फरवार्ड स्टेफन बिनङ घोषित भए । उत्कृष्ट प्रशिक्षक याम गुरुङ घोषित भए ।

चर्च ब्वाईजका मौसम लिम्बु उत्कृष्ट मिडफिल्डर र फाइनल खेलको म्यान अफ द म्याच पनि चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २०–२० हजार हात पारे ।

त्यसैगरी प्रतियोगिता भरी कुल ५ गोल गरेका मच्छिन्द्र फुटबल क्लबका आफिज ओलावालेले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । त्यसवापत उनले नगद ३० हजार र ट्रफी प्राप्त गरे ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा चेत ४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments