News सहाराको अक्षयकोषमा यू.के., वेल्जियम र हङकङबाट सहयोग
गोलनेपाल

पोखरा (खेलदैनिक) । नेपाली फुटबलमा एक अमिट पहिचान बनाएको पोखराकोे सहारा एकेडेमीको अक्षयकोषमा यू.के., वेल्जियम र हङकङबाट सहयोग प्राप्त भएको छ । सहारा क्लवका शुभेच्छुकहरुले शनिबार पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमी अवलोकन गर्दै १ लाख २० हजार रुपैया अक्षयकोषको लागि सहयोग रकम हस्तान्तरण गरेका हुन् ।



टोलीले थप २० हजार रुपैया भने सहारा एकेडेमीका बालकहरुको लागि खाजा खर्च समेत प्रदान गरेको क्लवले जनाएको छ । तमु धिं यू.के.का उपाध्यक्ष एवं रामबजार सोसाइटी यू.के.का पूर्व अध्यक्ष सहारा यूके सदस्य जुमकाजी गुरुङ, कमला गुरुङले सहारा क्लवले स्थापना गरेको अक्षयकोषमा नगद ५० हजार रुपैया आर्थिक सहयोग गरेकाछन् ।



त्यस्तै सहारा एकेडेमीका बालकहरुको खाजा खर्च वापत थप १० हजार रुपैया समेत गुरुङ परिवारले सहयोग गरेको हो । तमु समाज वेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ÷शर्मिला गुरुङबाट सहारा एकेडेमीको अयक्षकोषमा ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेकाछन्। सहारा हङकङका आजिवन सदस्य संतोष मल्लले उक्त अक्षयकोषमा १० हजार रुपैया सहयोग प्रदान गरेका छन् । हङकङ नेपाली युवा समुहबाट उक्त अक्षयकोषमा १० हजार रुपैया सहयोग प्राप्त भएको छ ।

सहारा क्लव यू्.के.का सल्लाहकार हरिकुमार श्रेष्ठ–सरिता श्रेष्ठले एकेडेमीका बालकहरुको खाजा खर्च वापत १० हजार रुपैया सहयोग गरेका छन् । उक्त रकम क्लवका अध्यक्ष केशव बहादुर थापालाई एकेडेमीमा शनिबार नै हस्तान्तरण गरिएको हो ।

तमु समाज वेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ, सहारा क्लव यू्.के.का सल्लाहकार हरिकुमार श्रेष्ठ, पूर्व खेलाडी प्रसाद गुरुङ सहितका व्यक्तिहरुको करिब ४ दशक पछि भेटघाट भएको सुर्दशन रञ्जितले बताए । सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

यसैबिच, आउँदो फागुनको तेश्रो साता देखि आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता पोखरामा हुने भएको छ । उक्त फुटवल प्रतियोगिताबाट बचत हुन आउने रकम क्लवले सहारा फुटवल एकेडेमीमा खर्चिदै आएको छ ।

Post Comments