News पाँचौं सुर्यनगर गोल्डकप शुरु, नवलपरासीको विजयी शुरुवात
गोलनेपाल

बर्दघाट । नवयुवा क्लब, सुर्यनगर, बर्दघाट नवलपरासीको आयोजनामा शुरु पाँचौं सुर्यनगर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा नवलपरासी–११ ले विजयी शुरुवात गरेको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ सुर्यनगर स्थित स्थानीय खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नवलपरासीले मकवानपुर–११ लाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेल शुरु भएको तेस्रो मिनटमै डेविड डोमरले नवलपरासीका लागि पहिलो गोलको खाता खोलेका थिए । लगतै दशौं मिनटमा सुरज आलेले त्यो गोलको अग्रता दोब्बर पारे । उता पराजित मकवानपुरका लागि दोस्रो हाफको २७औं मिनटमा कृष्ण रुम्बाले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।

खेलको म्यान अफ द म्याच नवलपरासीका डेविड डोमर घोषित भए । प्रतियोगिता अन्तरगत माघ २६ गते आइतबारको खेल स्वाभिमान युवा क्लब, दाङ र चितवन फुटबल संघबीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

नव युवा क्लब, सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको संरक्षकत्वमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments