News प्लानिङ ब्वाईजलाई भरौल गोल्डकपको उपाधि
गोलनेपाल

बराहक्षेत्र । बुधबार सम्पन्न छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि क्षमादेवी प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंले जितेको छ । फाइनलमा ब्वाईज युनियन क्लब, काठमाडौंलाई टाईब्रेकरमा हराउँदै प्लानिङ ब्वाईज च्याम्पियन बनेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ प्लानिङका लागि ३५औं मिनटमा फागुराम थारुले गोल गरेका थिए भने ब्वाईज युनियनका लागि दोस्रो हाफको तेस्रो मिनटमा सुशान्त लामाले गोल फर्काएका थिए । यद्यपि टाईब्रेकरमा भने प्लानिङले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको प्लानिङ ब्वाईजले उपाधिसहित नगद ४ लाख हात पार्यो भने उपविजेता ब्वाईज युनियनले दुई लाखमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाईजका फागुराम थारु घोषित भए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक प्लानिङ कै लोकेश चौधरी घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि प्लानिङ कै ऋषभ अधिकारी चुनिए । उत्कृष्ट मिडफिल्डर ब्वाईज युनियनका रुपेश क्षेत्री बन्दा उत्कृष्ट फरवार्ड प्लानिङका प्रताप राई बने ।

उत्कृष्ट प्रशिक्षक पनि प्लानिङ कै सचिन्द्र धिमाल चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे ।

त्यसैगरी प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी ब्वाईज युनियनका सुशान्त लामा घोषित भए । त्यसवापत उनले नगद २५ हजार र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सुनसरी क्षेत्र नम्बर १ ख का सभासद विजय राई लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments