News देवदह ब्वाईजलाई २९औं माछापुच्छ्रे कपको उपाधि
सुरज राना मगर

भैरहवा । संघर्षपुर्ण जितका साथ देवदह ब्वाईज, ढेकावर यहाँ सम्पन्न २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको बिजेता बनेको छ । सोमबार सम्पन्न फाइनल भिडन्तमा देवदहले लुम्बिनी ज्ञानज्योति क्लब, सियारीलाई टाईब्रेकरमा हराउँदै विजेता बन्न सफल भएको हो ।

त्यसअघि पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ दुवै टोलीले पेनाल्टीबाट गोल गरेका थिए । लुम्बिनी ज्ञानज्योतिका लागि जनम लिगलले गोल गरे भने देवदहका लागि प्रदिप मगरले गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने देवदहले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्न सफल भयो । विजेता बनेको देवदहले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता लुम्बिनी ज्ञानज्योतिले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी देवदहका सुरज सुनार चुनिए । उत्कृष्ट गोलरक्षक पनि देवदह कै बिष्णु पल्ली मगर बन्दा उदियमान खेलाडी लुम्बिनी ज्ञानज्योतिका सन्देश दगामी घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रखुख अतिथी सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, आयोजक माछापुच्छ्रे क्लबका अध्यक्ष युवराज थापा, खेल संयोजक जिवन बिक लगायतले पुरस्कृत गरेका थिए ।

समापन कार्यक्रमका विभिन्न सहयोगी व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याएको भन्दै आयोजक क्लबका अध्यक्ष युवराथ थापाले सबैप्रति धन्यवाद र आभार पनि प्रकट गरे ।

 

Post Comments