News जितका साथ भुटान र पाकिस्तानको ओलम्पिक छनौट समापन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी ओलम्पिक छनौटको महिला फुटबलतर्फ दुई दक्षिण एसियाली राष्ट्र भुटान र पाकिस्तानले आ–आफ्नो खेलमा जित हात पार्दै छनौट प्रतियोगिताको सुखद समापन गरेका छन् ।

छनौट प्रतियोगिता अन्तरगत समूह ए मा रहेको भुटानले आफ्नो अन्तिम खेलमा टिमोर लिस्टेलाई ३–१ ले हरायो । समूह चरणमा भुटानको यो लगातार दोस्रो जित थियो । त्यसअघि भुटानले आफ्नो दोस्रो खेलमा बलियो जोर्डनलाई २–१ हराएको थियो ।

भुटानले आयोजक उज्वेकिस्तानसँग समूहमा एक मात्र हार बेहोरेको थियो । समूह ए बाट आयोजक उज्वेकिस्तान दोस्रो चरणका लागि छनौट भएको छ ।

त्यस्तै समुह ई मा रहेको पाकिस्तानले समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले हराएर ऐतिहासिक जित हात पार्यो । ओलम्पिक छनौटको इतिहास मै पाकिस्तानको यो पहिलो गोल समेत थियो ।

पाकिस्तानले आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो भने दोस्रो खेलमा हङकङसँग २–० ले निराश बनेको थियो । समूह ई बाट शतप्रतिशत जित निकालेको फिलिपिन्स दोस्रो चरणमा प्रवेश गरेको छ ।

स्मरण रहोस, छनौट प्रतियोगिता अन्तरगत नेपालले समूह सी मा रहेको प्रतिस्पर्धा गरेको थियो । घरेलु मैदान मै भएको खेलमा नेपालले भियतनामसँग पहिलो खेलमा ५–१ र दोस्रो खेलमा २–० को हार बेहोर्दै छनौट प्रतियोगिता समापन गरेको थियो ।

 

Post Comments