News याङनाम एफसी याङनाम गोल्डकपको फाइनलमा याङनाम
रमेश समदर्शी

फिदिम १४ वसुमको आनिसाक्थिम युवा क्लबलाई पराजित गर्दै आयोजक याङनाम एफसी प्रथम याङनाम गोल्डकप २०७९ को फाइनलमा प्रवेश गरेको छ ।

फिदिम १० स्थित इमानसिं रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा वसुमलाई ३-० गोलले पराजित गर्दै आयोजकले फाइनल यात्रा तय गरेको हो । दुवै टोलीले पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफको अन्त्यतिर आएर आयोजकले ३ गोल गरेको हो । दोस्रो हाफको १४औँ मिनेटमा ऋतिक आङ्देम्बेले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफकै २६औँ मिनेट आयोजकका सुदिश जबेगुले गोल गर्दै अग्रता दोब्बर बनाए । खेल सकिन १ मिनेट बाँकी रहँदा दिनेश सेर्माले उत्कृष्ट गोल गर्दै आयोजकलाई ३-० गोलको फराकिलो नतिजाबाट जित दिलाउन सफल भए । खेलको म्यान अफ दी म्याच आयोजकका लागि पहिलो गोलकर्ता ऋतिक आङ्देम्बे घोषित भए । उनले नगद २ हजार र मेडल प्राप्त गरे ।

यसअघि आजै भएको अन्तिम क्वाटरफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबले जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश पाएको छ । स्पर्धी सिर्जना युवा क्लब हिलिहाङ निर्धारित समयमा १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा फिदिमले हिलिहाङमाथि ५-३ गोलअन्तरले जित निकालेको हो । निर्धारित समयमा फिदिमका लागि खेलको ३ मिनेटमै अग्रता बनाएको थियो । फिदिमका लागि मिराक लिङ्देनले गोल गरेका थिए । तर, ४ मिनेटपछि हिलिहाङका लाप्साङ बस्नेतले बराबरी गोल गरेर खेलमा फर्किएको थियो । बाँकी समय दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल भएनन् । उनीहरुले पाएको थुप्रै अवसर गोलमा परिणत नहुँदा निर्णय टाइब्रेकरबाट लिन बाध्य भएको थियो । टाइब्रेकरमा हिलिहाङका विशाल थिङको प्रहार फिदिमका गोलरक्षक सुरेश गुरुङले रोकेका थिए । सेमिफाइनल प्रवेशका लागि सुरेशको बचाउ नै निर्णायक बन्यो ।

फिदिमका लागि रोहित गुरुङ, अभय धिमाल, मिराक लिङदेन, विशाल राई र अतित आङ्बोको प्रहार गोलमा परिणत भएको थियो भने हिलिहाङका लागि विनोद नेम्बाङ, लाप्साङ र विक्रम तामाङको प्रहारमात्र गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दी म्याच मिराक लिङदेन घोषित भए । उनले नगद १ हजार र मेडल पाए ।

१२ टिम सहभागी गोल्डकपको फाइनल खेल बैशाख २ गते हुनेछ । विजेता टोलीले नगद १ लाख १ हजार १०१ र ट्रफी पाउने छ भने उपविजेताले नगद ५० हजार ५०५ मा चित्त बुझाउने छ ।

प्रतियोगिताको गोलरक्षक, रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३-३ हजारसहित ट्रफी पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार ५ सय पाउने छ । भोलि शुक्रबार अन्तिम सेमिफाइनलमा फिदिम स्पोर्टिङले शान्तिदीप युवा क्लब फिदिम १३ सँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments