News पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात
गोलनेपाल

तुम्बेवा । पाँचथरको तुम्बेवा गाउँपालिकामा “चौथो अध्यक्ष कप खुल्ला पुरुष तथा वडा स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता–२०८३” भव्य रूपमा सुरू भएको छ । “एकताबद्ध देश, खेलकुदको सन्देश” भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रतियोगिताले तुम्बेवामा खेलकुदीय माहोल तताएको छ ।

गाउँपालिकाको केन्द्र मौवास्थित श्री इन्द्रणी माध्यमिक विद्यालय को खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा आयोजक पहेलोले शानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरूवात गरेको छ । आयोजक टोलीले मुनाल स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आयोजकको जितमा रोसन लिम्बुले दुई तथा सनम लिम्बुले एक गोल गरे । मुनाल स्पोर्टिङ क्लबका लागि वियोग देवानले सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलभर आयोजक टोलीले आक्रामक प्रदर्शन गर्दै दर्शकको भरपुर साथ पाएको थियो ।

प्रतियोगिताअन्तर्गत दोस्रो दिन जेठ ३ गते प्रि–क्वाटरफाइनलका तीन खेल सञ्चालन हुनेछन् । आइतबार हुने पहिलो खेलमा सल्लेरी एफसी र फक्ताङलुङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन सत्रमा कोशी प्रदेश सभा सदस्य इन्द्र आङ्बो प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पालिका अध्यक्ष बाबुराम खड्का ले प्रतियोगिता स्थानीय स्तरमा खेलकुद विकास गर्नुका साथै युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, प्रतिस्पर्धात्मक भावना र आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउन आयोजना गरिएको बताए ।

Post Comments