News फिदिम स्पोर्टिङ याङनाम गोल्डकपको फाइनलमा
रमेश समदर्शी

फिदिम स्पोर्टिङ क्लब प्रथम याङनाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम १० स्थित इमानसिं रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा फिदिम १३ को शान्तिदीप युथ क्लबलाई पराजित गर्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । खेलको सुरुवातीदेखि नै दबाब सिर्जना गरेको फिदिम स्पोर्टिङले शान्तिदीपमाथि २-० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

फिदिम स्पोर्टिङले खेलको ५औँ मिनेटमा अग्रता बनाएको थियो । फिदिम स्पोर्टिङका लागि नवराज गुरुङले गोल गरेका थिए । यस्तै, दोस्रो हाफमा थप १ गोल भएको थियो । यस्तै, दोस्रो हाफको ७औँ मिनेटमा फिदिम स्पोर्टिङले अग्रता दोब्बर बनायो । उसका लागि अतित आङ्बोले गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच नवराज गुरुङ घोषित भए । उनले नगद १ हजार र मेडल पाए ।

जितसँगै फिदिम स्पोर्टिङले आयोजक याङनाम एफसीसँग उपाधि भिडन्तमा भेट पक्का गरेको छ । फाइनल खेल भोलि (शनिबार) दिउँसो हुनेछ ।

गोल्डकपमा १२ टिम सहभागी थिए । गोल्डकपको विजेता टोलीले नगद १ लाख १ हजार १०१ र ट्रफी पाउने छ भने उपविजेताले नगद ५० हजार ५०५ मा चित्त बुझाउने छ । प्रतियोगिताको गोलरक्षक, रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३-३ हजारसहित ट्रफी पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार ५ सय पाउने छ ।

Post Comments