News पेर्सिकमा रोहितको सम्झौता थप
गोलनेपाल

काठमाडौं । नेपालका चर्चित तथा अनुभवी मिडफिल्डर रोहित चन्दको इण्डोनेसिया बसाई थप लम्बिने निश्चित भएको छ । उनको वर्तमान इण्डोनेसियन क्लब पेर्सिक केदिरीले रोहितसँगको सम्झौता थप गरेको छ ।

सो कुराको जानकारी पेर्सिकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी समेत गराएको छ । यस सिजन पेर्सिकले त्यति उत्कृष्ट प्रदर्शन गर्न नसके तापनि समग्रमा क्लबको प्रदर्शन सन्तोषजनक रह्यो ।

सिजनको शुरुवातबाटै रेलिगेशनको त्रासमा रहेर संघर्ष गरेको पेर्सिकले सिजनको मध्यदेखि अन्तिमतिर आईपुग्दा भने उत्कृष्ट पूनःरागमन गर्यो । र ३४ खेलमा १२ जित, ८ बराबरी र १४ हारका साथ ४४ अंक जोड्दै लिगतालिकाको ११औं स्थानमा रहेर सिजनको समापन गर्न सफल भयो ।

लिगमा रोहितको प्रदर्शन पनि सन्तोषजनक रह्यो र उनले टोलीका लागि दुई गोल पनि गरे । स्मरण रहोस, रोहित गत वर्ष मात्र अर्को इण्डोनेसियन क्लब पेर्सिजा जकार्ताबाट पेर्सिकमा आवद्ध भएका थिए । जकार्ताका लागि भने उनले सन् २०१८ मा लिग उपाधि समेत जितेका थिए ।

Post Comments