News ओडिसाको जितमा रेखाको डेब्यु गोल
गोलनेपाल

काठमाडौं । बुधबारदेखि भारतमा शुरु प्रतिष्ठित हिरो वुमन्स आई लिग फुटबल प्रतियोगितामा स्पोर्टस ओडिसाले विजयी शुरुवात गरेको छ । विजयी शुरुवात गर्ने क्रममा ओडिसाले होप्स फुटबल क्लबलाई ३–२ ले हरायो ।

ओडिसाको जितमा यसै सिजन क्लबमा आवद्ध भएकी नेपालकी युवा फरवार्ड रेखा पौडेलले डेब्यु गोल गरिन् । त्यसबाहेक मनिषा नायक र अन्जुले थप एक–एक गोल गरिन् । उता पराजित होप्सका लागि शैलजा र रजनी बालाले गोल फर्काएकी थिईन् ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा मिसाका युनाइटेड एफसीले माता रुकमणी एफसीलाई शून्यका विरुद्ध २ गोलले हरायो । मिसाकाको जितमा दुवै गोल ललरिनमुआनीले गरिन् ।

स्मरण रहोस, यसपटक महिला आई लिगमा राष्ट्रिय टोलीका अन्य खेलाडीहरु पनि सहभागि छन् । जसमा साबित्रा भण्डारी, सरु लिम्बु, अन्जिला तुम्बापो सुब्बा, दिपा शाही, रेनुका नगरकोटी, अमिषा कार्की समेत रहेका छन् ।

Post Comments