
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा जारी ऐतिहासिक आठराई मदन मेला २०८० को अवसरमा आयोजित पुरुष फुटबल प्रतियोगिताको फाइनलमा खाम्लालुङको गिरी समाज र फोम्बो आयाजुङ कल्याणकारी समाज प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्रिमोहन माविको प्रांगणमा आयोजित प्रतियोगितामा गिरी समाजले उपाधिको दाबेदार मानिएको ताप्लेजुङको माछा पोखरी हिटी क्लब चाँगेमाथि टाइब्रेकरमा बाजी मारेको हो । टाइब्रेकरमा ३-० गोलअन्तरमा गिरी समाज भाग्यमानी बन्यो । खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको सुरुवाती अग्रता गिरी समाजले लिएको थियो । खेलको २ मिनेटमै दिनेश शेर्माले गोल गर्दै टिमलाई अघि बढाएका थिए । तर, ताप्लेजुङका लागि खेलको २९औँ मिनेटमा मन्जित लिम्बूले गोल गर्दै बराबरी गरेका थिए ।
टाइब्रेकरमा गिरी समाजका रोशन लिम्बू, दिनेश शेर्मा, विशाल लिम्बूको प्रहार गोलमा परिणत भएको थियो भने सन्तोष लिम्बूको प्रहार बाहिरिएको थियो । यसैगरी, मन्जित लिम्बूको प्रहार बाहिरिँदा सुशिल लिम्बू र अनुप सेन्दाङको प्रहार गिरी समाजका गोलरक्षकले रोकेका थिए । यसैगरी, अन्तिम सेमिफाइनल खेलमा जिरिखिम्ती युथ क्लबलाई सडनडेथमा पराजित गर्दै फोम्बो समाजले फाइनलमा स्थान सुरक्षित गरेको हो । उसले सडनडेथमा ११-१० गोलको नतिजाबाट फाइलन यात्रा तय गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा पनि समान ५-५ गोल भएपछि खेल सडनडेथमा पुगेको हो । सडनडेथमा फोम्बो समाजका लागि सन्तु फोम्बो, सनिर तामाङ र विपिन फोम्बोले १-१ गोल गरे भने सुशिल राई, निरश लिङदेन, प्रदिप फोम्बो र सुनिल चोङवाङले समान २-२ गोल गरे । जिरिखिम्तीका लागि सुवास पयाङ्गुको एउटा प्रहार बाहिरिएको थियो । उनकै पहिलो प्रहार भने गोलमा परिणत भएको थियो । यस्तै, ज्ञानेन्द्र भण्डारी, विष्णु गुरुङ र मिसाहाङ लिम्बूले समान १-१ गोल गरे भने विदुर लिम्बू, विशाल काफ्ले र विपेन गुरुङले समान २-२ गोल गरेका थिए ।
फुटबलको पुरुषतर्फ २२ वटा टिमले सहभागिता जनाएका थिए । विजेता टिमले नगद २ लाख र ट्रफी पाउँदा उपविजेताले नगद १ लाख ३० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । फाइनल खेल आजै हुनेछ ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न