
बिर्तामोड । प्रदेशस्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि नमो बुद्ध युवा क्लब, सप्तरीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा आयोजक अल इन वानलाई टाईब्रेकरमा हराउँदै नमो बुद्धले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
त्यसअघि बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माविको खेलमैदानमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा आयोजक उपाधिबाट बञ्चित हुन पुगेको थियो ।
खेलको ३९औं मिनटमा मेनुका आलेको गोलबाट आयोजकले खेलमा अग्रता बनाएको थियो । तर ४६औं मिनटमा रजनी थोकरले नमो बुद्धका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् । टाईब्रेकरमा भने नमो बुद्धले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको थियो ।
विजेता बनेको नमो बुद्धले उपाधिसहित नगद २ लाख २ हजार हात पार्यो भने उपविजेता आयोजक अल इन वानले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
व्यक्तिगत विधातर्फ आयोजककी सबिता राना मगर प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भईन । त्यसवापत उनले नगद ७ हजार र ट्रफी हात पारिन् । उत्कृष्ट गोलरक्षक नमो बुद्धकी पुजा थापा बनिन् भने उत्कृष्ट डिफेन्डर आयोजककी खुस्मा राई घोषित भईन् ।
उत्कृष्ट मिडफिल्डर नमो बुद्धकी रश्मी घिसिङ बन्दा उत्कृष्ट फरवार्ड आयोजककी लक्ष्मी श्रेष्ठ घोषित भईन् । उत्कृष्ट प्रशिक्षक भने नमो बुद्धका अरुण राई घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार नमो बुद्धकी रजनी थोकरले हात पारिन् । त्यसवापत उनले नगद ६ हजार र ट्रफी प्राप्त गरिन् । विजयी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष कृष्णबाबु योञ्जन, राखेपकी कार्यकारी सदस्य नन्दा बस्याल, एन्फाकी कार्यसमिति सदस्य सरिला श्रेष्ठ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
अल इन वान क्लब, बिर्तामोड, झापाको आयोजनामा बैशाख ९ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
(तस्विर सांभारः खबरखेत)ि