News सलहेश फाइनलमा, उपाधिका लागि डाँडाबजारसँग भिड्ने
गोलनेपाल

राजारानी । सलहेश युवा क्लब, सिरहा यहाँ जारी अग्नी–बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा पथरी फुटबल क्लब, मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै सलहेश उपाधि नजिक पुगेको हो ।

राजारानी खेलमैदानमा भएको खेलमा सलहेशका लागि दुवै गोल खेलको ५० र ५८औं मिनटमा फागुराम थारुले गरे । निर्णायक दुई गोल गरेका फागुराम खेलको म्यान अफ द म्याच पनि चुनिए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे । सलहेशले बैशाख २८ गतेका दिन हुने फाइनलमा डाँडाबजार फुटबल क्लब, धनकुटासँग उपाधिका लागि भिड्नेछ ।

रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेता १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments