News बिरगंजसँग एपिएफ पराजित, सेमिफाइनल समिकरण पनि पूरा
गोलनेपाल

धनकुटा । बिरगंज युनाइटेड, बिरगंज जारी १५औं शहिद भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । शनिबार भएको चौथो क्वाटरफाइनलमा एपिएफ फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै बिरगंज अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि तल्लो टुंडिखेल मैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलको २३औं मिनटमा प्रिरज थापाको गोलबाट बिरगंजले खेलमा अग्रता लिएको थियो । त्यो अग्रता बिरगंजले पहिलो हाफसम्म कायम पनि राख्यो ।

तर दोस्रो हाफको ६३औं मिनटमा सन्तोष कटुवालले एपिएफका लागि बराबरी गोल गरे भने ८३औं मिनटमा प्रविन स्याङ्तनले विभागीय टोलीलाई दोस्रो गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । यद्यपि त्यसको तीन मिनट लगतै बिरगंजका विजय चौधरीले दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

निर्धारित समयको खेल रोमाञ्चक बराबरीमा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने बिरगंजले ४–१ ले नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भएको थियो ।

खेलमा बिरगंजका गोलरक्षक दिलमणी चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ४ हजार र ट्रफी हात पारे । बिरगंजले अब दोस्रो सेमिफाइनलतर्फ जेठ १ गतेका दिन झापा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत बैशाख ३१ गते आइतबारको पहिलो सेमिफाइनल खेल पेमा युवा क्लब, बिराटनगर र प्लानिङ ब्वाईज क्लब, काठमाडौंबीच हुनेछ ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल जेठ २ गतेका दिन हुनेछ ।

 

Post Comments