News आर्मी, मच्छिन्द्र र सातदोबाटोको जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार भएका तीन खेलहरुमा स्पष्ट जितको नतिजाहरु निस्किएका छन् । च्यासल स्टेडियममा भएको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सिजनको सातौं जित दर्ता गर्ने क्रममा थ्रीस्टार क्लबलाई १–० ले हरायो ।

खेलको १०औं मिनटमा जापानिज खेलाडी युता सुजुकीले गरेको एक मात्र गोल मच्छिन्द्रलाई तीन अंक दिलाउन निर्णायक बन्यो । यो जितपछि १७ खेलबाट २७ अंक जोडेको मच्छिन्द्र तेस्रो स्थानमा उक्लेको छ । र लिगलिडर जावलाखेल भन्दा तीन अंकले मात्र पछाडी छ । पराजित थ्रीस्टार भने २५ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।

त्यस्तै दशरथ रंगशालामा भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले शिर्षताको होडमा रहेको चर्च ब्वाईज युनाइटेडलाई १–० ले हरायो । पहिलो हाफको ४३औं मिनटमा जिलेस्पी जंग कार्कीले गरेको एक मात्र गोल आर्मीलाई जित दिलाउन प्रर्याप्त बन्यो ।

यो नतिजापछि चर्च ब्वाईजको शिर्ष स्थानमा उक्लने अवसर गुमेको छ भने लिगलिडर जावलाखेललाई फाईदा पुगेको छ । १७ खेलबाट समान ३०–३० अंक भए तापनि जावलाखेल गोलभिन्नताले चर्च ब्वाईजभन्दा अगाडी रहँदै शिर्ष स्थानमा यथावत छ । चर्च ब्वाईज दोस्रो स्थानमै छ । त्यस्तै आर्मी भने २४ अंकका साथ छैठौं स्थानमा उक्लेको छ ।

त्यसैगरी दशरथ रंगशालामा भएको दिनको तेस्रो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली एपिएफ फुटबल क्लबमाथि ३–० को प्रभावशाली जित हात पार्यो । खेलको १३औं मिनटमा विलियम ओपोकुको गोलबाट सातदोबाटोले खेलमा अग्रता बनाएको थियो ।

दिपकराज सिंह ठकुरीले ३५ र ७७औं मिनटमा लगातार दुई गोल गर्दै सातदोबाटोको उत्कृष्ट जित पक्का गरेका थिए । यो जितपछि १७ खेलबाट २६ अंक जोडेको सातदोबाटो लिगतालिकाको चौथो स्थानमा छ । पराजित एपिएफ भने २२ अंकका साथ सिातौं स्थानमा छ ।

Post Comments