News इङलिस फुटबलर सुलिमानले पाकिस्तानका लागि साफ खेल्ने
गोलनेपाल

काठमाडौं । उमेर समूहमा इङल्याण्डको यु–१६ देखि यु–२० सम्म प्रतिनिधित्व गरिसकेका पाकिस्तानी मूलका इङलिस फुटबलर इसाह सुलिमानले अर्को महिना भारतमा हुने प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपमा पाकिस्तानका लागि खेल्ने भएका छन् ।

सुलिमानलाई पाकिस्तानबाट खेलाउन पाकिस्तान फुटबल फेडरेशनले फिफासमक्ष निवेदन दिएको थियो । त्यो निवेदनलाई फिफाले बिहीबार मात्र स्वीकृत गरेको छ । फिफाको अनुमति पाएसँगै २५ वर्षिय सुलिमानले २१ जुनदेखि बैंगलोरमा हुने साफ च्याम्पियनसिपमा पाकिस्तानका लागि खेल्ने सम्भावना पनि बलियो बनेको छ ।

हाल पोर्चुगलको टप डिभिजन क्लब भिटोरिया एससीमा आवद्ध सुलिमानले लोन स्पेलमा पोर्चुगल कै दोस्रो डिभिजनको टोली भिलाफ्रान्क्वेन्सेबाट खेलिरहेका छन् । यद्यपि उनले आफ्नो व्यवसायीक फुटबल करियर भने सनु २०१५ देखि इङल्याण्डको चर्चित क्लब एस्टन भिल्लाबाट शुरु गरेका थिए ।

त्यति मात्र नभएर इङल्याण्डको कुनै एक टोलीमा कप्तानी गर्ने उनी पहिलो बृटिश एसियन समेत हुन् । उनले सन् २०१४ मा भएको प्रतिष्ठित मोन्टायगु टुर्नामेन्टमा इङल्याण्डको यु–१६ फुटबल टोलीको कप्तानी समेत गरेका थिए ।

स्मरण रहोस, १४औं साफ च्याम्पियनसिपको ग्रुप अफ डेथ मानिएको समूह ए मा पाकिस्तान परेको छ । जहाँ आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारतसँगै, गत संस्करणको उपविजेता नेपाल र बलियो कुवेत सामेल छन् ।

 

Post Comments