News हानामी अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २४ देखि
गोलनेपाल

भरतपुर । मोफसलको फुटबलमा फरक पहिचान बनाएर निरन्तर सक्रिय रहेको भरतपुर फुटबल क्लब, चितवनको आयोजनामा आउँदो जेठ २४ गतेदेखि हानामी अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

भरतपुर, चितवन स्थित गेष्ट हाउस मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । हानाी इन्टरनेशनल ऐजुकेशन प्रा.लि.को मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक ध्रुव भुषालले जानकारी दिए ।

फुटबलसँगै शिक्षण पेशामा आवद्ध रहेका खेल संयोजक ध्रुव भुषालले विद्यालयस्तरमा शिक्षासँगै खेलकुदको महत्व आफूले राम्रोसँग बुझेको बताए ।

चितवन जिल्ला फुटबल संघ सह–आयोजक रहेको प्रतियोगितामा कुल १६ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाउने पनि संयोजक भुषालले बताए । फाइनल खेल भने जेठ ३२ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।

विद्यालय स्तरबाटै फुटबलमा उदाउँदा खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अर्का सदस्य कृष्ण कार्कीले बताए । यस्ता युथ फुटबल प्रतियोगिताहरुले क्षमता बोकेका उदीयमान खेलाडीहरुको पहिचान गर्न पनि सहयोग पुग्ने बताए ।

Post Comments