News राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि स्थगित गर्ने जनाएको छ । एन्फाले बिहीबार वित्रप्ती जारी गर्दै क्लबहरुको विरोधका कारण राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको जानकारी दिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले केही दिन अघि मात्र साफको तयारीका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । साथै बिहीबारदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पनि शुरु भएको थियो । तर, क्लबहरुको विरोधका कारण एन्फाले जेठ १९ गते बिहीबार प्रशिक्षण हुने त्यसपछि बन्द प्रशिक्षण स्थगित गरिएको बारे विज्ञप्तीमा उल्लेख गरेको छ ।

स्मरण रहोस, बिहीबार मात्रै लिगमा सहभागि १० क्लबहरुले एन्फाले दिनु पर्ने तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी र म्यान अफ द म्याचको पाउनु पर्ने रकम नपाएपछि अन्य विविध कुराहरुमा विरोध जनाउँदै जेठ १९ गतेदेखि सबै खेलाडी तथा अफिसियलहरुले लिग अवधिभर कालोपट्टी लगाएर खेल्ने निर्णय गरेका थिए ।

साथै लिग चलिरहेकै बेला साँझ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको भन्दै १० क्लबहरुले लिग नसकिदासम्म राष्ट्रिय टोलीका लागि खेलाडीहरु उपलब्ध नगराउने घोषणा समेत गरेको थियो । ती १० क्लबहरुमा मनाङ मस्र्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाईज युनाइटेड, फ्रेण्डस क्लब, थ्रीस्टार क्लब, एनआरटी, एफसी खुमलटार, सातदोबाटो, मच्छिन्द्र र संकटा रहेका छन् ।

ए डिभिजन लिग यही जेठ २७ गते सकिंदैछ भने असार ६ गतेदेखि भारतको बैंगलोरमा १४औं साफ च्याम्पियनसिप शुरु हुँदैछ । जहाँ नेपालले आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत, बलियो कुवेत र पाकिस्तान रहेको समूह ए मा परेको छ । त्यसअघि नेपालले जेठ ३२ गतेका दिन मनिलामा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच पनि खेल्दैछ ।

क्लबहरुको यो विरोध र निर्णयसँगै नेपाली राष्ट्रिय फुटबल टोलीको साफ च्याम्पियनसिपको तयारी पनि प्रभावित हुने निश्चित भएको छ । जसले प्रतियोगितामा नेपालको प्रदर्शनलाई पनि असर गर्ने निश्चित देखिएको छ ।

Post Comments