News होराईजन एफसी पाल्पा गोल्डकपको सेमिफाइनलमा
सुरज राना मगर

तानसेन । होराईजन फुटबल क्लब, वालिङ जारी कर्णेल उजिर सिंह पाल्पा गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ होराईजनले २८ बिघा युथ क्लब, नवलपुरलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

टुंडिखेल मैदानमा भएको खेलको शुरुवाती मिनट मै विवेक चौधरीको गोलबाट होराईजनले खेलमा अग्रता लिएको थियो । यद्यपि २८औं मिनटमा राज भुषालले २८ बिघाका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

खेलको ५५औं मिनटमा विवेक चौधरीले नै व्यक्तिगत दोस्रो गोल गर्दै होराईजनलाई खेलमा २–१ को स्थितिमा ल्याए । त्यस्तै ७५औं मिनटमा टिकाराज गुरुङले होराईजनका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

खेलमा दुई गोल गरेका होराईजनका विवके चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे । प्रतियोगिता अन्तरगत जेठ २१ आइतबारको तेस्रो क्वाटरफाइनल खेल रड्स रामपुर एफसी, चितवन र बिर गोर्खाली, लखनाउ, भारतबीच हुने खेल संयोजक करन चित्रकारले बताए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २७ गतेका दिन हुने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय जंग राणाले जानकारी दिए ।

Post Comments