News माडीलाई छैठौं स्व. भुवानी पौडेल स्मृति कपको उपाधि
गोलनेपाल

माडी । छैठौं स्व. भुवानी पौडेल स्मृति कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको उपाधि माडी माविले जितेको छ । फाइनलमा अमर माविलाई २–१ ले हराउँदै माडी विजेता बनेको हो ।

बसन्तपुर बजार स्थित खुला मैदानमा भएको उपाधि भिडन्तमा माडीका लागि सन्दिप बोट र उज्ज्वल महतोले गोल गरे । उता पराजित अमर माविका लागि समिर मियाले एक मात्र गोल फर्काएका थिए । फाइनल खेलको म्यान अफ द म्याच माडीका एज्ज्वल महतो घोषित भए ।

विजेता बनेको माडीले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता अमर माविले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ माडीका सुशान्त पनेरु उत्कृष्ट गोलरक्षक चुनिए भने उत्कृष्ट डिफेन्डर अमर माविका राजेश खड्का घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि अमर मावि कै पर्वत मगर घोषित भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार प्रतियोगिताभरि कुल ६ गोल गरेका माडीका उज्ज्वल महतोले हात पारे । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पनि महतो चुनिए ।

इमेज बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा दिवाकर स्मृति माविको सह–आयोजनामा जेठ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १५ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments