News फ्रेण्डसको अग्नीपरीक्षा, मच्छिन्द्रलाई शेर्पा, मनाङलाई एनआरटीको चुनौति
गोलनेपाल

काठमाडौं । समापनको संघारमा आइपुगेको शहिद स्मारक ए डिभिजन लिगको २५औं चरणको खेलतर्फ बुधबार रेलिगेशन क्षेत्रको पुछारमा रहेको फ्रेण्डस क्लबले आज निर्णायक भिडन्तका रुपमा अर्को संघर्षरत टोली संकटा क्लबको सामना गर्दैछ ।

दशरथ रंगशालामा बेलुका ६ बजेदेखि शुरु हुने फ्रेण्डस र संकटा बीचको खेलले २४ खेलबाट २६ अंकका साथ पुछारमा रहेको फ्रेण्डसको रेलिगेशन क्षेत्रको खाका कोर्नेछ । फ्रेण्डसले आज जित हात पार्न सके उसको रेलिगेशनबाट जोगिने सम्भावता पनि कायम रहनेछ । त्यस्तै ३० अंकका साथ दशौं स्थानमा रहेको संकटालाई पनि रेलिगेशनको दबाब छ । र, संकटाले पनि आफू अनुकुल नतिजा निकाल्नुपर्ने चुनौति पनि छ ।

त्यसैगरी दशरथ रंगशाला मै ३ बजेदेखि शुरु हुने अर्को खेलमा २४ खेलबाट ३९ अंकका साथ दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबले ३१ अंकका साथ आठौं स्थानमा रहेको हिमालयन शेर्पा क्लबको सामना गर्दैछ । आजको खेलमा निश्चित जित निकाल्दै मच्छिन्द्र शिर्ष दूईमा आफ्नो पकड बलियो बनाउने योजनामा हुनेछ । उता शेर्पा पनि सकेसम्म शिर्ष पाँचमा रहेर लिग समापन गर्ने योजनामा छ ।

त्यस्तै च्यासल स्टेडियममा ३ बजेदेखि नै हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले एनआरटीको सामना गर्दैछ । ३२ अंकका साथ छैठौं स्थानमा रहेको मनाङ सम्भवत शिर्ष पाँचमा रहेर लिग समापन गर्न चाहन्छ । उता ३० अंकका साथ ११औं स्थानमा रहेको एनआरटी भने रेलिगेशन त्रासबाट मुक्त हुन चाहन्छ । र, त्यसका लागि एनआरटीले मनाङलाई आज कडा चुनौति दिने अनुमान पनि गरिएको छ ।

Post Comments