News फिफा यु–२० विश्वकपः उरुग्वे र इटाली उपाधिका लागि भिड्ने
गोलनेपाल

काठमाडौं । अर्जेन्टिनामा जारी प्रतिष्ठित फिफा यु–२० विश्वकपको फाइनलमा उरुग्वे र इटाली उपाधिका लागि भिड्ने भएका छन् ।

बिहीबार राती सम्पन्न दुई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा उरुग्वेले इजरायललाई १–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो । खेलको ६१औं मिनटमा एन्डरसन डुवार्टेले गरेको एक मात्र गोल उरुग्वेलाई तेस्रोपटक फाइनलमा पुर्याउन निर्णायक बन्यो । स्मरण रहोस, उरुग्वेले यसअघि सन् १९९७ र २०१३ को फाइनल पनि खेलेको थियो । यद्यपि उपाधि जित्न भने असफल भएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलतर्फ इटालीले गत संस्करणको उपविजेता दक्षिण कोरियालाई २–१ ले हराउँदै पहिलोपटक उपाधि नजिक पुगेको हो । खेलको १४औं मिनटमा सिजरे कासाडेइको गोलबाट इटालीले खेलमा शुरुवाती अग्रता लिए पनि त्यो अग्रता पहिलो हाफ मै गुमाउन पुगेको थियो ।

खेलको २३औं मिनटमा लि सियुङ वोनले पेनाल्टीबाट कोरियाका लागि बराबरी गोल फर्काएका थिए । खेल रोमाञ्चक बराबरीतर्फ लम्किरहेका बेला ८६औं मिनटमा सिमोने पाफुन्डीले इटालीका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्याएका थिए ।

इटालीको यो पहिलो फाइनल समेत हो । यो सँगै यसपटक फिफा यु–२० विश्वकपको २३औं संस्करणले नयाँ विजेता पाउने तय भएको छ । फाइनल खेल आइतबार हुनेछ । त्यस्तै सोही दिन दक्षिण कोरिया र इजरायल तेस्रो स्थानका लागि भिड्ने छन् ।

Post Comments