News आयोजक भारत र लेबनानको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । शुक्रबारदेखि शुरु तेस्रो हिरो कन्टिनेन्टल कपमा आयोजक भारत र लेबनानले विजयी शुरुवात गरेका छन् । भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको उद्घाटन खेलमा लेबनानले भानुआतुलाई ३–१ ले हराउँदै विजयी शुरुवात गर्यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सबै गोलहरु दोस्रो हाफमा सम्भव भए । ५९औं मिनटमा नादेर मतरको गोलबाट लेबनानले खेलमा अग्रता लिएको थियो । तर त्यसको तीन मिनट लगतै वेलवेलले भानुआतुका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

त्यस्तै ७२औं मिनटमा हसन कुरानीले लेबनानका लागि दोस्रो गोल गरे भने ८५औं मिनटमा करिम डार्विचले पेनाल्टीबाट तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

त्यस्तै कालिंगा स्टेडियम मै भएको दोस्रो खेलमा आयोजक भारतले मंगोलियालाई २–० ले हरायो । भारतका लागि खेल शुरु भएको दोस्रो मिनट मै सहल अब्दुल समादले पहिलो गोल गरे भने १४औं मिनटमा ललियनज्वाला चाङ्तेले दोस्रो गोल गरे ।

यही जुन २१ तारीखदेखि भारत कै बैंगलौरमा शुरु हुन गईरहेको १४औं साफ च्याम्पियनसिपको तयारी प्रतियोगिताका रुपमा समेत हेरिएको इन्टरकन्टिनेन्टल कपमा भारत, लेबनान, मंगोलिया र भानुआतु सहभागि छन् । लिगचरणको खेलपश्चात समूहको शिर्ष दुई टोली फाइनलमा भिड्ने छन् । फाइनल खेल १८ जुनका दिन हुनेछ ।

स्मरण रहोस, यसपटक साफ च्याम्पियनसिपमा लेबनानले पनि सहभागिता जनाएको छ । साफको समूह ए मा आयोजक तथा साविक विजेता भारतसँगै नेपाल, कुवेत र पाकिस्तान छन् । त्यस्तै समूह बी मा लेबनान, माल्दिभ्स, बंगलादेश र भुटान रहेका छन् ।

Post Comments