News इराकलाई वाफ यु–२३ च्याम्पियनसिपको उपाधि
गोलनेपाल

काठमाडौं । चौथो संस्करणको वाफ यु–२३ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि आयोजक इराकले पहिलोपटक जित्न सफल भएको छ । फाइनलमा इराकले पहिलो संस्करणको विजेता इरानलाई टाईब्रेकरमा हराउँदै उपाधि चुम्न सफल भएको हो ।

राजधानी बगदाद स्थित अल–मदिना स्टेडियममा सम्पन्न फाइनलमा इराक र इरानले निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरी खेलेका थिए । थपिएको अतिरिक्त समयमा पनि नतिजा निस्किन नसकेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने इराकले इरानमाथि ५–४ को जित निकाल्दै पहिलोपटक उपाधि जित्न सफल भयो ।

स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा पहिलो सेमिफाइनलतर्फ इरानले जोर्डनलाई टाईब्रेकरमा हराएको थियो भने इराकले ओमानमाथि १–० को जित निकालेको थियो ।

प्रतियोगितामा पश्चिम एसियाका इराक, युएई, जोर्डन, ओमान, इरान, सिरिया, लेबनान, प्यालेस्टाईन र यमन गरी कुल ९ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments