News गोलधापसँग चन्द्रगढी निराश
रमेश समदर्शी

हल्दिबारी । झापाको हल्दिबारी ३ स्थित ढडुवामा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबलमा शुक्रबार चन्द्रगढीको ब्रदर्स युनाइटेडमाथि गोलधाप एफसीले जित दर्ता गरेको छ । गोलधापले सडनडेथमा जित निकाल्दा चन्द्रगढी स्तब्ध बनेको हो । 

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । सोचेभन्दा फितलो प्रदर्शन गरेका दुवै टोलीले निर्णायक गोल गर्न नसक्दा टाइब्रेकर रोजिएको थियो । तर, सडनडेथबाट मात्र विजेताको छिनोफानो भएको हो । सडनडेथमा ५-४ गाेलअन्तरमा गाेलधाप विजयी बन्याे । 

टाइब्रेकरमा चन्द्रगढीका लागि प्रविण राई, निकेश गुरुङ, सुरज लिम्बू र सुशन ब्लोनको प्रहारमात्र गोलमा परिणत भएको थियो भने दिपांशु राउतको प्रहार गोलधापका गोलरक्षक सन्तोष हास्दाले रोकेका थिए । 

यस्तै, गोलधापका लागि निशान बस्नेत, सन्तोष हेमरम, अमित मुर्मु र मिलन योङहाङको प्रहार गोलमा परिणत हुँदा सन्जोग राईको प्रहार चन्द्रगढीका गोलरक्षक दिपांशु राउतले रोकेका थिए । 

सडनडेथमा चन्द्रगढीका अस्मित मगरको प्रहार क्रस बारमा लाग्दै भित्रिँदा अनलक्की सावित बने । गोलधापका लागि निर्णायक गोल मोहन टुडुले गरेका थिए । खेलको म्यान अफ दी म्याच गोलधापका गोलरक्षक सन्जोक हास्दा बने । 

ढडुवा एफसी हल्दिबारी ३ ले आयोजना गरेको प्रतियोगितामा भोलि (शनिबार) झापा एफसी राजगढ र न्यू स्टार फुटबल क्लब खोपबारी (बिर्तामोड)बीच हुनेछ ।

Post Comments